काठमाडौं । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहबीचको वार्ता अनिश्चित बनेको छ। शुक्रबार रातिसम्म भएको दुई पक्षीय छलफलमा शक्ति बाँडफाँड (पावर सेयरिङ) को विषयमा सहमति नजुटेपछि वार्ता अघि बढ्न नसकेको हो।
स्रोतका अनुसार शुक्रबारको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत शक्ति बाँडफाँडको प्रस्ताव राखेको थियो। सो प्रस्तावमा सहमति हुन नसके पनि सभापतिमा रवि लामिछाने रहने र भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने विषयमा भने मोटामोटी समझदारी बनेको जनाइएको छ। तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटमा आधा–आधा हिस्सेदारीको माग आएपछि रास्वपा पक्ष त्यसमा सहमत हुन नसकेको स्रोतको दाबी छ।
शुक्रबार सहमति नजुटेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरी पुनः वार्तामा बस्ने बताइएको थियो। शनिबार बिहान कुलमान र बालेन समूहबीच छलफल भए पनि त्यसबाट कुनै ठोस प्रस्ताव बाहिर नआएको जनाइएको छ।
रास्वपा पक्षले आज बालेनसँग पुनः बस्ने भनिए पनि वार्ताको टुंगो नलागेको स्रोतले जनाएको छ। ‘आज कुनै समूहसँग औपचारिक छलफल भएको छैन। रवि र बालेनबीच पनि तत्काल भेटवार्ताको सम्भावना छैन। बालेन पक्षबाट औपचारिक खबर आएमा बस्न सकिन्छ। समानुपातिकको बन्द सूची बुझाउने समय पुस १४ गतेसम्म भएकाले हतारिनुपर्ने अवस्था पनि छैन,’ स्रोतले भन्यो।
बालेन समूह भने कुलमान घिसिङको प्रतीक्षामा रहेको बताउँदै रेशम चौधरी र सीके राउतलाई समेत समेटेर अघि बढ्नुपर्ने प्रस्ताव राखिरहेको छ।
मंगलबार रातिदेखि रास्वपाका राजनीतिक वार्ता तथा संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतबीच लगातार छलफल भए पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया