काठमाडौं । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूबीच हुने प्रस्तावित एकतामा सभापति रवि लामिछाने बन्ने र आगामी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह हुने प्रस्ताव अस्वीकार गरेको छ।
उज्यालो नेपालको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा रास्वपा र मेयर बालेनको तर्फबाट आएको प्रस्तावबारे छलफल भएको थियो। बैठकमा, संरक्षक कुलमान घिसिङ र पार्टीको हिस्सेदारी स्पष्ट नहुने र केवल सभापति तथा प्रधानमन्त्रीको पदबारे मात्रै प्रस्ताव आएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
केन्द्रीय सदस्यका अनुसार नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयास भने जारी राख्ने विषयमा छलफल भएको छ। उनी भन्छन्, ‘केन्द्रीय समितिको बैठकमा रवि पार्टी सभापति र आगामी प्रधानमन्त्री बालेन हुने भनी प्रस्ताव आएको थियो। उज्यालो नेपालले यसलाई स्वीकार्य नभएको स्पष्ट पारेको छ।’
उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले पनि बैठकमा रास्वपा र बालेनसँग मिलेर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए। सिंहले भने, ‘एकताको प्रयास जारी राख्नेगरी विभिन्न चरणमा छलफल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ।’ सिंह उज्यालो नेपालबाट रास्वपा र बालेनबीच भइरहेको वार्तामा सहभागी नेता हुन्।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया