काठमाडौं । नेपाली कांग्रेसले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार छान्ने प्रक्रिया थालेको छ । ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत पार्टीले अगाडि बढाएको छ ।

त्यस्तै कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।

advertisement

शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय पार्टीले गरेको छ ।

बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पनि पार्टीमा फर्कनका आह्वान गरेको छ । त्यसरी फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ । कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णयसमेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गरेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com