काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् ।

अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा–२ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

advertisement

यस्तै, मधेस प्रदेशको धनुषास्थित महादेव गाउँपालिका–२ की २२ वर्षीया महिलाको ग्यासमा पानी तताउने क्रममा आगलागीमा परेर मृत्यु भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

सुनसरीको भोक्राहामा घूर बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा एक महिला घाइते भएकी छिन् । यस्तै सप्तरीमा पनि घुर ताप्ने क्रममा नै साडीमा आगो सल्किएर एक महिला घाइते भएकी छिन् । महोत्तरीमा पनि साडीमै आगो सल्किएर एक महिला घाइते भएकी छिन् ।

त्यसैगरी, रौतहट, पर्सा र दोलखामा पनि आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक–एक जना घाइते भएका छन् । भक्तपुरमा आगो ताप्ने क्रममा ११ वर्षीया बालिका घाइते भएकी छिन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com