काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सहमतिप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कडा आलोचना गरेका छन्।

आइतबार बिहान रवि लामिछाने र बालेन शाहबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उक्त सहमतिलाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

advertisement

भिडियो सन्देशमा मेयर साम्पाङले उक्त सहमति विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्। सहकारी प्रकरणलगायत विभिन्न विवादमा मुछिएका व्यक्तिहरूसँग सत्ता र कुर्सीका लागि हातेमालो गर्दै देशलाई विदेशी शक्तिको प्रभावमा सुम्पिन खोजिएको उनको आरोप छ।

‘सहकारी काण्डदेखि विभिन्न प्रकरणमा तानिएका र एमसिसीजस्ता विषयको तयारी गर्नेहरूसँग मिलेर सत्ता र पदका लागि देशलाई विदेशीका हातमा लिलाम गर्न तयार हुने व्यक्ति को हो?’ भन्दै उनले प्रश्न गरे। ‘विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा भोगिसकेका छौं। त्यसलाई संस्थागत गर्न लुकेर बस्ने व्यक्ति को हो, तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला,’ उनले भने।

मेयर साम्पाङले बालेन शाहमाथि जेन–जी पुस्तालाई उक्साएर आन्दोलनमा धकेलिएको आरोप समेत लगाए। आन्दोलनका क्रममा सयौं नागरिक घाइते भएको, देश अशान्तिको दिशातर्फ धकेलिएको अवस्थामा समेत सम्बन्धित व्यक्ति सार्वजनिक रूपमा नआएको भन्दै उनले आक्रोश व्यक्त गरे।

‘बाहिर निस्कने साहस नगरी भित्रै लुकेर टुलुटुलु हेर्ने, मुसुमुसु हाँसिरहने प्रवृत्ति देखियो,’ उनले भने। ‘जेन–जीले सरकारलाई दबाब दिन बोलाउँदा पनि ऊ बाहिर निस्कँदैन, तर भित्रै बसेर विदेशी शक्तिको सेटिङमा मनपरी सरकार बनाउने खेल खेलिरहन्छ।’

उनले त्यसरी बनेको सरकारले एक थान निर्वाचनबाहेक जेन–जी आन्दोलनका कुनै पनि माग सम्बोधन नगरेको दाबी गर्दै उल्टै आन्दोलनकारीमाथि धरपकड गरिएको आरोप लगाए।

मेयर साम्पाङका अनुसार अब प्रत्येक नेपालीले गम्भीर प्रश्न सोध्ने समय आएको छ। ‘जेन–जीलाई किन उक्साइयो? उक्साएपछि सिंहदरबार किन जल्यो? यत्रो जनधनको क्षति हुँदा पनि आन्दोलनकारीको अन्त्येष्टिमा समेत किन सहभागी भएनन्? विदेशी चलखेल किन यसरी देशभित्र भित्र्याइयो?’ उनले प्रश्न गरेका छन्।

भिडियो सन्देशसँगै साम्पाङले फेसबुकमा निरन्तर स्टाटस लेख्दै रवि र बालेनबीचको सहकार्यलाई विदेशी शक्तिको चलखेलको संज्ञा दिएका छन्। एक स्टाटसमा उनले लेखेका छन्, ‘सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान! यी विदेशी दलालहरूले देश सिध्याउने खतरा छ।’

उनले जनतामाझ जाने साहस नभएकाहरूले प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै बालेन शाहप्रति समेत कटाक्ष गरेका छन्। अर्को स्टाटसमा उनले लेखेका छन्, ‘सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इसारामा देश चलाउने सपना देख्दैछन्।’

उल्लेखनीय छ, शनिबार साँझ ७ बजेदेखि निरन्तर छलफलपछि आइतबार बिहान करिब ४ बजे रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा अघि बढ्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ। आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने सहमति भएको छ भने पार्टीको नेतृत्व भने रवि लामिछानेकै हातमा रहनेछ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com