काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने उद्देश्यसहित अघि बढाइएको षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले भदौ २३ र २४ गते भएका घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाउँदै नेपाललाई अस्थिर पार्ने योजनाको पहिलो चरणका रूपमा व्याख्या गरे। अब सोही योजनाको अर्को चरणतर्फ गतिविधि अघि बढिरहेको उनको भनाइ छ।
महासचिव पोखरेलले यस्तो संवेदनशील अवस्थामा संविधान र लोकतन्त्रको पक्षमा उभिने देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, नेपाललाई भूराजनीतिक द्वन्द्वमा तानिन नदिन सबैले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनका अनुसार भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइँदा केही युवाको ज्यान गएको थियो। त्यसैको आडमा भदौ २४ गते राज्य, लोकतन्त्र तथा राष्ट्रिय अस्मिताका आधार स्तम्भमाथि आक्रमण भएको आरोप पनि उनले लगाएका छन्।
पोखरेलले यस्ता विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालकबारे तथ्यहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबीसमेत गरेका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया