काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’को संज्ञा दिएकी छन्। रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको बृहत् राजनीतिक एकतापछि उनले यस्तो व्यक्त गरेकी हुन्। यसअघि गौतमले रास्वपालाई ‘अबको आशा’को रूपमा प्रस्तुत गरेकी थिइन्।
सहमतिपत्रमा लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन्। सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्म बुझ्ने, साथै आन्दोलनका घाइते र शहीद परिवारका माग यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ।
त्यसैगरी सहमतिअनुसार पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
एकतापछि निर्माण हुने राजनीतिक दल, यसको चुनाव चिह्न, पार्टी कार्यालयको नाम राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने उल्लेख सहमतिपत्रमा छ। साथै पार्टी संगठनात्मक संरचनामा युवालाई सक्रिय रूपमा सहभागी गराउने र नेतृत्व विकासमा जोड दिने विषय पनि समावेश गरिएको छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया