काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिप्रति कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै प्रसाईंले उक्त सहमतिलाई राजनीतिक सहकार्यभन्दा बढी राजनीतिक व्यापारको संज्ञा दिएका छन्। देशलाई निजी सम्पत्तिजस्तो सम्झेर सम्झौता गर्ने प्रवृत्तिलाई उनले प्रश्नको घेरामा राखेका छन्।
प्रसाईंले सहकारी पीडित करिब ७० लाख नागरिकको न्यायको विषय किन प्रमुख एजेन्डा नबनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार वास्तविक जनसमस्या ओझेलमा पारेर सत्ता र पदको हिसाबकिताब हुनु गलत हो।
गएराति रवि लामिछाने र बालेन शाहबीच आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएपछि प्रसाईंको प्रतिक्रिया आएको हो।
उनले भागबण्डामा आधारित राजनीतिले देश नबन्ने भन्दै देश निर्माणका लागि चरित्र, नैतिकता र स्पष्ट दृष्टिकोण आवश्यक हुने बताए। व्यक्ति वा दलभन्दा प्रणाली र देशलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सत्यका पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।
प्रसाईंले देश कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै जनताको निर्णयबाटै शासन चल्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, देशको हित चाहने हो भने ढिला नगरी जनमत संग्रह गरिनुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया