काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले रवि लामिछाने र बालेन शाहबीचको गठबन्धनलाई लिएर स्पष्ट चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘नगरपालिका पनि चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने हो।’

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले काण्डै–काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छविलाई तीव्र गतिमा कमजोर पार्ने दाबी गरेका छन्।

advertisement

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो। रविजस्ता विवादित व्यक्तिको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,’ उनले लेखेका छन्। ‘रास्वपाको राजनीति पुराना दलमाथि आलोचना गर्दै सत्ता चढ्ने र स्पष्ट दिशा–भिजनविना अघि बढ्ने भएकाले जनताको दूरी अझ बढ्ने र जनमत कमजोर हुने निश्चित छ।’

बस्नेतले भदौ २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि गरिएको आक्रमणलाई नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिर बनाउने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘यो षड्यन्त्रमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, माओवादी र राजावादी धाराको समर्थन देखिनु गम्भीर विषय हो।’

उनले नेपाली राजनीतिमा नयाँ पात्रलाई ‘आशा’को रूपमा प्रस्तुत गर्ने परम्परा दोहोरिएको उदाहरण पनि दिए। ‘गगन आए, जबर्जस्त प्रचार भयो तर बासी भए। काण्डमै मुछिएका रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै परिवर्तन गर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम सकिन थालेको छ। अनुहार फेरिँदा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’

बस्नेतले आगामी निर्वाचनमा प्रमुख प्रश्नको रूपमा राज्य संरचना जोगाउने कि अराजकता फैलाउने दललाई समर्थन गर्ने भन्ने विषय उठाएको बताए। ‘सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई नेतृत्व दिने बालेन–रवि हुन्। संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै बहन गर्नुपर्छ,’ उनले भने।

उनले समस्या नयाँ दलको अस्तित्वमा नभई पुराना दलमा रहेका विकृतिहरूमा रहेको औंल्याए। ‘पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु आवश्यक छ। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट मार्गबिना सफल हुँदैन।’

अन्त्यमा बस्नेतले यस्तो समयमा संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। ‘नत्र नयाँ बोतलमा पुरानो रक्सी पिइरहँदा हामी फेरि त्यही भ्रमको सिकार हुने छौं,’ उनले चेतावनी दिएका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com