काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार एकैदिन विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडफोड गरी भागेका एक कैदीसहित अन्य ८ जना रहेका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकका अनुसार गत भदौ २४ गतेको आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका कैदी प्रकाश विकलाई पक्राउ गरिएको हो।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका शुक्लागण्डकी नगरपालिका–१० स्थायी घर भई हाल भिमाद गाउँपालिका–९ बस्ने २७ वर्षीय विकलाई पक्राउ गरी आइतबारै कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न कसुरमा अदालतबाट सजाय तोकिए पनि फरार रहेका अन्य ८ जनालाई पनि नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा आपराधिक उपद्रव मुद्दामा ऋषिङ गाउँपालिका–१ का सुमन सारु, चेक अनादर मुद्दामा व्यास नगरपालिका–१३ की सावित्री पाण्डे र घिरिङ गाउँपालिका–२ का तिलबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै, अवैध वन्यजन्तु (रतुवा मृग) चोरी सिकारी मुद्दामा भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विक र अन्जु नेपाली पक्राउ परेका छन्।

यसैगरी, बैंकिङ कसुर मुद्दामा व्यास नगरपालिका–३ की ३४ वर्षीया जोशनाबानु रानालाई पनि पक्राउ गरिएको डीएसपी विकले जानकारी दिए।

पक्राउ परेका आठै जना प्रतिवादीहरूलाई लगत कट्टाका लागि आइतबारै जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको थियो।

उनीहरू अदालतले तोकेको जरिवाना तथा धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com