काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताको उद्देश्यले पुनः सुरु गरिएको संवाद अहिलेसम्म ठोस सहमतिमा पुग्न सकेको छैन। आइतबार साँझ रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन बनेको हो।
छलफल राति अबेरसम्म चले पनि शक्ति बाँडफाँडलगायतका विषयमा सहमति नजुट्दा वार्ता असफल भएको स्रोतले जनाएको छ। उच्च स्रोतका अनुसार तत्काल सहमति हुन नसके पनि संवादको ढोका पूर्ण रूपमा बन्द भने भइसकेको छैन।
स्रोतका अनुसार सोमबार बिहान पुनः बैठक बस्ने सहमति भएको छ। सोमबारसम्म समानुपातिकतर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ। बिहान १० बजेसम्म सहमति गर्ने लक्ष्यसहित पुनः छलफल गर्ने तयारी गरिएको स्रोतले जानकारी दियो।
शक्ति बाँडफाँडमा सहमति नजुट्दा एकता प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ। यसैबीच जेनजी अभियन्ता सुदन गुरुङलगायत अन्य अभियन्ताहरूले दुवै पक्षलाई एकताका लागि दबाब दिइरहेका छन्। वार्ता जारी रहँदा उनीहरू छलफल स्थलमै पुगेर एकताको पक्षमा आग्रह गरेका थिए। आइतबार साँझ सुरु भएको बैठक मध्यरातसम्म चलेको थियो।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया