काठमाडौं । क्वालालम्पुर। दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार थलापति विजयले आफ्नो अभिनय करियरबाट विश्राम लिने घोषणा गरेका छन्। ३३ वर्ष लामो फिल्मी यात्रालाई अन्त्य गर्दै उनले अब आफ्नो समय राजनीतिमा केन्द्रित गर्ने निर्णय लिएका हुन्
मलेसियामा आयोजित आफ्नो अन्तिम फिल्म ‘जन नायकन’ को अडियो सार्वजनिक कार्यक्रममा ५१ वर्षीय विजयले भावुक हुँदै फिल्म क्षेत्रबाट संन्यास लिने आधिकारिक जानकारी दिएका थिए।
बाल कलाकारको रूपमा १० वर्षको उमेरमा तमिल फिल्म ‘वेट्री’ बाट सुरु गरेका विजयले १८ वर्षको उमेरमा ‘नालैया थिएरपू’ मार्फत नायकका रूपमा डेब्यु गरेका थिए। हाल उनी आफ्नो राजनीतिक दल, तमिलगा वेट्री कजगम, गठन गरिसकेका छन् र सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा पार्टीले प्रतिस्पर्धा गर्ने तयारीमा छ। उनले आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै अब बाँकी जीवन जनताको सेवामा समर्पित गर्न चाहेकाले सिनेमाबाट संन्यास लिएको बताए।
विजयले आफ्नो तीन दशक लामो यात्रामा आलोचनाको सामना गर्नुपरे पनि प्रशंसकको मायाले आफू यो उचाइमा पुगेको स्वीकार गरे। रोचक कुरा के छ भने, सन् २०१५ को फिल्म ‘पुली’ पछि उनका कुनै पनि फिल्म फ्लप भएका छैनन्। ‘बिस्ट’, ‘वारिसु’ र ‘द ग्रेटेस्ट अफ अल टाइम’ (GOT) जस्ता पछिल्ला फिल्महरूले मिश्रित समीक्षा पाएका भए पनि बक्स अफिसमा करोडौंको व्यापार गरेर उनको स्टारडम प्रमाणित गरेका थिए।
विजयको घोषणा संगै उनका लाखौं प्रशंसक दुःखी भए पनि उनले फिल्मको पर्दाबाट अलग भए पनि वास्तविक जीवनमा ‘नायक’ बनेर जनताको पक्षमा उभिने वाचा गरेका छन्। उनका अन्तिम फिल्म ‘जन नायकन’ प्रति अहिले दर्शकको ठूलो चासो र अपेक्षा रहेको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया