काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिच एकता हुने तयारी अन्तिम चरणमा पुगेको छ। दुई दलले आजै एकताको औपचारिक घोषणा गर्ने सम्भावना रहेको बताइएको छ।
जसपाभित्र उपाध्यक्ष रेनु यादव नेतृत्वको समूहले एकताको पहल अघि बढाएको छ। अध्यक्ष अशोक राई अझै पूर्ण रूपमा सहमत भइनसकेको भए पनि उनीसँग निरन्तर संवाद भइरहेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार सम्भव भएसम्म अशोक राईलाई पनि समेटेर एकताको घोषणा गर्ने प्रयास भइरहेको छ। यदि राई सहमत नभएमा रेनु यादव नेतृत्वको समूहले जसपा नेपालसँग आजै एकताको घोषणा गर्ने तयारी गरेको बताइएको छ।
उपाध्यक्ष यादव पक्षले आफ्नो समूहसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ। यसअघि जसपाका नेता राजेन्द्र श्रेष्ठ अलग भई नेकपा (एकीकृत समाजवादी) सँग एकता गरिसकेका छन्। बाँकी रहेका केन्द्रीय सदस्यलाई समेटेर यादव पक्षले जसपा नेपालसँग एकता गर्न लागेको जनाइएको छ।
उल्लेखनीय रूपमा, आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच पनि एकताका लागि सहमति भएको थियो।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया