काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ गते भएको दर्दनाक घटनाले आफू गहिरो रूपमा मर्माहत भएको बताएका छन् । उक्त घटनामा युवाहरूले ज्यान गुमाउनुका साथै थुप्रै घाइते भएको अवस्थाले आफ्नो मन छियाछिया भएको लेखकको भनाइ छ ।
भदौ २३ र २४ गते भएका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष सोमबार बयान दिने क्रममा लेखकले घटनाप्रति गम्भीर पीडा व्यक्त गरेका हुन् । उनले गृहमन्त्रीको जिम्मेवारीमा रहेका बेला यति दुःखद घटना घटेकाले नैतिकताको आधारमा तत्काल पदबाट राजीनामा दिने निर्णय गरेको स्पष्ट पारे ।
‘घटनाबाट गहिरो पीडा महसुस गर्दै मैले नैतिक जिम्मेवारी स्वीकार गरेर गृहमन्त्री पदबाट राजीनामा दिएको हुँ,’ लेखकले बयानमा उल्लेख गरेका छन् ।
त्यसैगरी, भदौ २४ गते भएका हिंसात्मक गतिविधिहरू राष्ट्रको अस्तित्व, स्वाभिमान र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध केन्द्रित रहेको लेखकको ठम्याइ छ । उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति भवन जस्ता राज्यका प्रमुख संरचनामाथि भएको आक्रमण कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने दुस्साहस भएको बताएका छन् ।
लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तविपरीत प्रतिनिधि संस्थामाथि गरिएको आक्रमण जेनजी पुस्ताको स्वाभाविक सोच वा योजनाभन्दा बाहिरको विषय भएको लेखकको धारणा छ ।
उनले ती घटनाहरू आकस्मिक नभई सुनियोजित षड्यन्त्रका रूपमा भएको र राष्ट्र तथा लोकतन्त्रलाई लक्षित नियोजित आक्रमण भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार











प्रतिक्रिया