काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेश गरेका छन्। सोमबार आयोगमा उपस्थित भई उनले छ पृष्ठ लामो लिखित बयान बुझाएका हुन्।
बयानमा लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्। उनले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा ‘कुनै पनि प्रकारको हताहती नहोस् र उच्च संयमता अपनाइयोस्’ भन्ने निर्देशन दिएको दाबी गरेका छन्। सुरक्षा निकायको अपरेसनल कार्यमा मन्त्रीले प्रत्यक्ष हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको उनको जिकिर छ।
पूर्वगृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै जेन–जी समूहले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनलाई केही लोकतन्त्रविरोधी तत्वले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको आरोप लगाएका छन्। संसद् भवन, सर्वोच्च अदालत तथा आफ्नै निजी निवासमा भएको आगजनीलाई उनले सुनियोजित षड्यन्त्र र लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिएका छन्।
घटनाका क्रममा युवाहरूले ज्यान गुमाएपछि आफू गहिरो रूपमा मर्माहित भएको उल्लेख गर्दै लेखकले नैतिक जिम्मेवारीका आधारमा तत्कालै पदबाट राजीनामा दिएको स्मरण गराएका छन्। आगजनीका क्रममा आफ्नो घरमा रहेका ऐतिहासिक कागजातहरू नष्ट भएको र बिरामी आमालाई अक्सिजनबिनै अस्पताल लैजानु परेकाले केही दिनपछि उनको निधन भएको पीडादायी प्रसङ्गसमेत बयानमा समेटिएको छ।
यसैबीच, लेखकले आयोगको सिफारिसका आधारमा सरकारले जानकारी नै नदिई तीन महिनादेखि आफ्नो राहदानी रोक्का गरेको र काठमाडौँ उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। आफूलाई सफाइको अवसरसमेत नदिई गरिएको यस्तो निर्णय विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तविपरीत भएको उनको भनाइ छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया