काठमाडौं । राप्रपा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी यसपटकको समानुपातिक बन्दसूचीमा नपर्ने भएका छन्। सोमबार पार्टीको कार्यसम्पादन समिति बैठकमा आन्तरिक भोटिङ गर्दा उनी पराजित भएका हुन्।
भोटिङको नतिजा अनुसार लोहनीको पक्षमा १४ मत परेको थियो भने विपक्षमा १८ मत परेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।
लोहनीले आफू समानुपातिक सूचीमा हुनु पर्ने जिकिर गरेका भए पनि पार्टीले तय गरेको मापदण्ड अनुसार उनी योग्य ठहरिएका थिएनन्। विवाद समाधान गर्न आन्तरिक मतदान गर्ने निर्णय गरिएको थियो।
राप्रपाले बनाएको मापदण्डमा २०६४ पछि समानुपातिक सांसद बनेकालाई पुनः समानुपातिक सूचीमा समावेश नगर्ने व्यवस्था रहेको थियो। लोहनीले २०६४ पछि राष्ट्रिय जनशक्ति पार्टीबाट समानुपातिक सांसद बनेको उल्लेख गर्दै आफूलाई अहिलेको मापदण्ड अनुसार अवसर पाउनुपर्ने दाबी गरेका थिए।
यसैबीच, मंसिर २८ मा जारी गरिएको पार्टीको सर्कुलर अनुसार, जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै समानुपातिक निर्वाचनमा नयाँ उम्मेदवारलाई प्राथमिकता दिने र २०६४ पछि निर्वाचन आयोगको सूचीमा नाम परेको पूर्वसांसदलाई यसपटक सिफारिस नगर्ने व्यवस्था लागू हुने बताइएको थियो। यही मापदण्ड लोहनीको हकमा लागू हुने बैठकमा एक पक्षले स्पष्ट पारेको थियो।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया