काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत करिब ३५ वर्षदेखि सत्ता सम्हाल्दै आएका कांग्रेस र कम्युनिस्ट दलहरूको असफल नीति र कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक तथा सामाजिक संकटमा पुगेको आरोप लगाएका छन्।

जसपा नेपाल मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले उदारीकरण र निजीकरणको नाममा १३५ वटा उद्योग–कलकारखाना बन्द गरिँदा देश ऋणको भारी बोझमा फस्न पुगेको बताए।

advertisement

उनले सत्तारुढ दलहरूकै कारण शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र तहसनहस भएको तथा भ्रष्टाचारले चरम रूप लिएको दाबी गरे। यही निराशाजनक अवस्थाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रन बाध्य भएको उनको भनाइ थियो। सिंहदरबार र ऐतिहासिक संरचनामा क्षति पुग्नु, नेताहरूको घरमा आगजनी हुनु र सुरक्षाकर्मीको सहारामा भाग्नुपर्ने अवस्था आउनु सत्ताको स्पष्ट असफलता भएको यादवले टिप्पणी गरे।

अध्यक्ष यादवले सरकार मधेसी जनतालाई विगतमा झुक्क्याएझैँ अहिले जेनजी युवाहरूलाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको आरोप लगाए। साथै, संविधान संशोधन र प्रदेशहरूको पुनर्संरचना आवश्यक रहेको बताउँदै मधेस केवल आठ जिल्ला नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको स्मरण गराए।

हालको संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गरे। महँगो निर्वाचन प्रणालीका कारण सामान्य नागरिक र उत्पीडित समुदाय चुनाव लड्नबाट वञ्चित भएकाले आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था आवश्यक रहेको उनले बताए।

यादवले वर्तमान निर्वाचन क्षेत्र संरचनाले ६० प्रतिशत जनसङ्ख्या भएका मधेसी समुदायलाई १० प्रतिशतमा सीमित गरेर विभेद गरिएको आरोपसमेत लगाए। संघीयता, सुशासन र सामाजिक न्यायको मागसहित आयोजित उक्त विरोध सभामा मधेसका विभिन्न जिल्लाबाट हजारौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जनकपुरधामको तिरहुतिया गाछीमा भएको सभामा सहभागीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com