काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यको नेतृत्वमा गएको टोलीले बन्दसूची बुझाएको हो।

पार्टीका अनुसार सूची तयार गर्दा पुरानो पुस्ता, नयाँ पुस्ता, महिला, पिछडिएको क्षेत्र तथा समावेशी समूहलाई सन्तुलित रूपमा प्रतिनिधित्व गराइएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कँडेललगायतका नेताहरू समेटिएका छन्।

advertisement

महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको नाम समावेश गरिएको छ। त्यसैगरी पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत आठ जनाको प्रतिनिधित्व गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वसमेत बन्दसूचीमा समेटिएको एमालेले जनाएको छ।
नयाँ पुस्तातर्फ मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवारहरू सूचीमा राखिएका छन्। साथै क्रान्ति बुर्लाकोटी र अनिता कन्दङ्वालजस्ता युवा नेताहरू पनि बन्दसूचीमा अटाएका छन्।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज अन्तिम दिन पार्टीले समानुपातिकतर्फको उम्मेदवार बन्दसूची बुझाएको जनाएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com