काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका छन्।
आज गोरखामा आयोजित स्मार्ट हुलाक घोषणा तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दलबाट सूची दर्ता भइसकेकाले अब देश पूर्ण रूपमा निर्वाचनको मोडमा प्रवेश गरेको स्पष्ट पारे।

मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसको अन्त्य भइसकेको उल्लेख गर्दै तोकिएकै समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।

advertisement

‘चुनाव हुन्छ कि हुँदैन भन्ने बहस अब सकिएको छ,’ उनले भने, ‘आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सबै राजनीतिक दल र सरोकारवाला पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ।’
विगतमा विषम परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदै आएको स्मरण गराउँदै मन्त्री खरेलले यसपटक पनि सरकार र राजनीतिक दलको सहकार्यमा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए।

‘निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा हो,’ उनले भने, ‘सरकारले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको छ। सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षामा कुनै समस्या हुँदैन। विगतमा जस्तै यसपटक पनि सफल निर्वाचनको उदाहरण प्रस्तुत हुनेछ।’
मन्त्री खरेलले देशको विकास र समृद्धिका लागि सबै नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

हरेक निर्वाचनमा जस्तै यसपटक पनि इ–भोटिङ प्रणाली तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय चर्चामा रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारले प्रयास जारी राखेको जानकारी दिए। साथै, अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे पनि गम्भीर छलफल भइरहेको उनले बताए।
उनले सबै सरोकारवालालाई निर्वाचन सफल बनाउन सहयोग गर्न आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवालाई घरघरमा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले स्मार्ट हुलाक सेवा सुरु भएसँगै गोरखा जिल्ला उदाहरणीय बनेको बताइन्। सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई समयअनुकूल रूपान्तरण गर्दै यसको अधिकतम लाभ लिन सरकार सक्रिय रूपमा लागेको उनले उल्लेख गरिन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com