काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि महाधिवेशन आयोजना गर्दा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। यद्यपि, नेतृत्वले महाधिवेशन अघि नै गर्ने निर्णय गरेमा आफू त्यसमा अवरोध नबन्ने उनको भनाइ छ।

मंगलबार केही सञ्चारकर्मीहरूसँगको अनौपचारिक भेटघाटमा सभापति देउवाले यसबारे आफूले पहिल्यै पार्टीका नेताहरूलाई सुझाव दिँदै आएको उल्लेख गरे। उनले भने, ‘निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको प्रभाव निर्वाचनमा पर्न सक्छ भनेर मैले लगातार भनिरहेको छु। तर गर्ने नै निर्णय हुन्छ भने त्यसलाई रोक्ने कुरा हुँदैन।’

advertisement

देउवाले आगामी १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट गर्दै त्यस कारण आफू पूर्ण रूपमा तटस्थ रहने बताए। विधानअनुसार पनि आफू उम्मेदवार बन्न नपाउने र व्यक्तिगत रूपमा पनि कुनै इच्छा नरहेकाले अन्य नेताहरूलाई मात्र प्रोत्साहन गर्ने उनले उल्लेख गरे।

सभापति देउवाले विशेष महाधिवेशनको सम्भावना भने अस्वीकार गरे। विशेष महाधिवेशनले प्रक्रिया र विधिसम्बन्धी विवाद बढाउन सक्ने भन्दै उनले भने, ‘विशेष महाधिवेशन गरियो भने त्यसको विधि के हुने, कसरी गर्ने भन्ने विषयमै अर्को विवाद सुरु हुन्छ। त्यसैले विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन मिलेर सम्पन्न गर्नुपर्छ।’

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com