काठमाडौं । ‘हनी ट्र्याप’मार्फत अपहरण गरी कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय व्यवसायी विनोद खड्गीको हत्या गरेको अभियोगमा संलग्न ठहरिएका तीन जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सोमबार फैसला सुनाउँदै सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी–९ बस्ने मनिषा महत, महोत्तरी गौशाला–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङ गलकोट–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैदको सजाय तोकेको हो। अदालतका स्रेस्तेदार इन्दिरा कार्कीका अनुसार दोषी ठहर गरिएका तीनै जनाबाट पीडित परिवारलाई जनही दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने तथा जनही २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ।

advertisement

यसै घटनामा अभियुक्त रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन्। मतियारका रूपमा मुद्दा चलाइएका काठमाडौं शंकरापुर–५ का सरिन घिमिरेलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोकिएको अदालतले जनाएको छ। घटनामा संलग्न भनिएका अंशु खान र शिवम सिंह राजपुत भने हालसम्म फरार रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार कीर्तिपुर–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई २०८१ असोज ५ गते राति ‘नागरिकता बनाउन सहयोग गर्ने’ बहानामा बोलाई अपहरण गरिएको थियो। घटनापछि सुरुमा ३० लाख रुपैयाँ फिरौती माग गरिएकोमा क्रमशः रकम घट्दै अन्ततः पाँच लाख रुपैयाँमा सहमति भएको थियो।

पीडित पक्षबाट उक्त रकम बुझाइसकेपछि पनि अभियुक्तहरूले खड्गीको हत्या गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। घटनापछि शव काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ क्षेत्रबाट फेला परेको थियो।

अनुसन्धानका क्रममा अभियुक्तहरूले फिरौतीको रकम आपसमा बाँडफाँड गरेको खुलेको छ। साथै, मनिषा महत भारतमा समेत यस्तै प्रकृतिका आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। भारतबाट फर्किएपछि पनि उनी धनी व्यक्तिहरूलाई लक्षित गर्दै ‘हनी ट्र्याप’मार्फत रकम असुल्ने समूहमा सक्रिय रहेको अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com