काठमाडौँ । जेनजीको माग तत्काल पूरा गर्दै राजनीतिक निकासपछि मात्र निर्वाचन गराउनुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा ८ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
लामो समयदेखि निरन्तर अनसनमा रहेका डा. भुसालको स्वास्थ अवस्था बिग्रँदै गएपछि चिकित्सकको सल्लाहमा उनलाई आज वीर अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार, अत्यधिक कमजोरी, रक्तचाप असन्तुलन लगायत स्वास्थ्य जटिलता देखिएपछि आकस्मिक उपचार आवश्यक परेको हो।
डा. भुसालले जेनजी आन्दोलनका मागहरूलाई बेवास्ता गर्दै अघि बढाइएको राजनीतिक प्रक्रियाप्रति आपत्ति जनाउँदै अनसन सुरु गरेका थिए। उनले देशलाई स्पष्ट राजनीतिक निकास नदिई गरिने निर्वाचनले समस्याको समाधान नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा नागरिक समाज, युवा समूह तथा आन्दोलनमा आबद्ध विभिन्न पक्षले सरकारलाई तत्काल संवादमा आउन र मागप्रति गम्भीर बन्न आग्रह गरेका छन्। साथै, अनसनरत डा. भुसालको जीवन सुरक्षाका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने दबाब पनि बढ्दै गएको छ।
हाल वीर अस्पतालमा चिकित्सकहरूको निगरानीमा उनको उपचार जारी रहेको र अवस्था सुधार गराउने प्रयास भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया