काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरेर भ्रम र होहल्ला फैलाइरहेको आरोप लगाएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले फेसबुक, एक्सलगायत सामाजिक सञ्जालमा फैलाइने प्रचारप्रति असन्तुष्टि व्यक्त गर्दै केही समूहले नेपाल नै कब्जा भइसकेको जस्तो गलत सन्देश प्रवाह गरिरहेको बताए।
कार्यक्रमका क्रममा प्रचण्डले ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङप्रति संकेत गर्दै पार्टी र जनताले दिएको साथ र भरोसा बिर्सिएको आरोप लगाए। उनले भने, विदेशी प्रतिक्रियावादी शक्तिहरू सामाजिक सञ्जालमार्फत सक्रिय छन्। त्यसैमा रमाएर केहीले नेपाल कब्जा भइसकेको जस्तो प्रचार गरिरहेका छन्। पार्टी र जनताले लगाएको गुन बिर्सेर कतिपय मानिस बैगुनी भएर हिँडिरहेका छन्।
प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला कुलमान घिसिङ दुई पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त भएका थिए। केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारले उनलाई पदबाट हटाएपछि त्यसको विरोधमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा आवाज उठाएको थियो।
आगामी निर्वाचनमा नेकपाप्रति समर्थन वा चुनावी तालमेलको अपेक्षा गरिरहेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीबारे सार्वजनिक रूपमा आलोचना समेत गर्दै आएका छन्।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार











प्रतिक्रिया