काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेले समान सिट बाँडफाँट गर्दै सहकार्यका साथ अघि बढ्न सक्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष थापाले मुलुक गम्भीर संकटमा परेको अवस्थामा कांग्रेस–एमालेबीच तत्काल सहकार्य आवश्यक भएको बताए। उनले देशलाई संकटबाट बाहिर निकाल्न दुवै ठूला लोकतान्त्रिक शक्तिहरूले मोर्चाबन्दी गरेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गरे।
थापाले कांग्रेस र एमालेको संयुक्त पहलबाट लोकतन्त्र पुनःस्थापना सम्भव हुने उल्लेख गर्दै भने, ‘कांग्रेस र एमाले दुवै शक्तिको सहकार्य र संयुक्त आन्दोलनबाट मात्रै लोकतन्त्रलाई फेरि स्थापित गर्न सकिन्छ। हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्व जोगाउन सक्छ।’
उनले अबको लोकतन्त्र पुनःस्थापित गर्न दुवै दलले साझा रणनीति र कार्यनीति तत्काल तय गर्नुपर्नेमा जोड दिए। संसद् पुनःस्थापना वा निर्वाचन—दुवै विकल्पमार्फत प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्दै मुलुकलाई सही दिशामा लैजान सकिने थापाको भनाइ थियो।
‘नयाँ संसद् गठन गरेर होस् वा विघटित संसद् पुनःस्थापना गरेर—यी दुई बाटोबाट हामी अघि बढ्न सक्छौँ,’ उनले भने, ‘नयाँ संसद्मा वामपन्थी–लोकतन्त्रवादी शक्तिहरूको वर्चस्व स्थापित गर्दै लोकतन्त्रलाई पुनःस्थापित गर्न सकिन्छ।’
उपाध्यक्ष थापाले विघटित संसद् अदालत वा सडकको दबाबबाट पुनःस्थापना हुने फागुन २१ सम्मको समयसीमा रहेको दाबी गरे। उनले फागुन २१ मा तोकिएको निर्वाचन नहुन पनि सक्ने सम्भावनातर्फ संकेत गर्दै भने, ‘यदि निर्वाचन उनीहरूका लागि अनुकूल नदेखिए, त्यसलाई टार्ने प्रयास पनि हुन सक्छ।’
तर, जुनसुकै परिस्थितिमा पनि लोकतन्त्रवादी शक्तिहरू एकजुट भई आगामी संघर्षमा जित हासिल गर्न र प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्न मोर्चाबन्दी गर्नुपर्ने उनको जोड थियो।
भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको दाबी गर्दै उपाध्यक्ष थापाले देश गम्भीर संकटमा परेको र त्यसको समाधान कांग्रेस र एमालेको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने निष्कर्ष निकाले।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया