काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विपन्न, भौगोलिक रूपमा पछाडि परेका र पहुँचविहीन समुदायलाई सूचीमा समुचित स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन्।
समानुपातिक प्रणालीको मूल उद्देश्य नै भौगोलिक विकटता, आर्थिक अभाव र पहुँचको कमीका कारण पछाडि परेका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व दिलाउनु रहेको उल्लेख गर्दै उनले सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँको आवाज बोल्नुपर्ने बताएकी छन्। तर, पार्टी नेतृत्वका आफन्त तथा पार्टीका महत्त्वपूर्ण पदमा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीका प्रमुख आकांक्षी बन्नु र त्यहीँ आफ्नो स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि प्रश्न उठाएको उनको भनाइ छ।
उनले पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिक सूचीमा राखिनु अनुचित भएको पनि बताएकी छन्। पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैँ लाभको अवस्थामा रहने भन्दै उनले प्राइमरी भोटिङ वा मूल्यांकन प्रक्रियामा पनि उनीहरूलाई स्वाभाविक रूपमा फाइदा हुने उल्लेख गरेकी छन्। ‘पार्टीको महाधिवेशन नहुँदासम्म पदाधिकारी र सचिवालय सदस्यहरू निर्वाचनबाट चयन भएका होइनन्, तर पार्टीभित्र पदमा पनि बस्ने र निर्वाचनमा पनि समानुपातिक सूचीको अग्रपङ्क्तिमा नाम सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन,’ उनले लेखेकी छन्।
अन्त्यमा, सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट आफ्नो नाम हटाई प्रत्यक्ष निर्वाचनमार्फत जनतामाझ जान सक्ने साहस देखाउनुपर्ने उनले जोड दिएकी छन्।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया