काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान राजनीतिक परिदृश्यमा देखा परेको नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा जारी सन्देशमा उनले पाँच दशकपछि विश्वमा पुनः महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थ सक्रिय हुँदै गएको उल्लेख गर्दै यस्तो परिस्थितिमा श्रद्धेय नेता बीपी कोइरालाको विचारलाई मन, वचन र कर्मले पुनः आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले लोकतान्त्रिक आन्दोलनका नेता बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले आजकै दिन ‘राष्ट्रिय मेलमिलाप’ को सन्देश दिँदै आठ वर्षको भारत प्रवास त्यागेर स्वदेश फर्किएको स्मरण गरेका छन्। त्यसबेला विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीका बीच नेपालजस्तो सानो र संवेदनशील भू–राजनीतिक अवस्थाको देशको राष्ट्रियता र स्वतन्त्रता जोगाउन राष्ट्रिय एकता र मेलमिलाप अपरिहार्य रहेको बीपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए।
डा. कोइरालाले राष्ट्रिय एकता र मेलमिलापका लागि सत्ता–राजनीतिभन्दा माथि उठेर सम्पूर्ण सार्वभौम नेपालीहरू जागरुक, सतर्क र ऐक्यबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उनले बीपी कोइरालाले सम्भावित व्यक्तिगत जोखिमलाई राष्ट्रको अस्तित्वको खतरा अगाडि नगण्य ठानी ऐतिहासिक निर्णय गर्दै प्रवासबाट स्वदेश फर्किएझैँ आज पनि लोकतन्त्रको रक्षा गर्न, भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनतर्फ अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया