काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ।

तामाङको शव घ्याङ्लेख गाउँपालिका–१ स्थित पिउरीखोला जंगलमा भेटिएको हो। घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र हत्या हो वा आफैं बन्दुक पड्किएर लागेको हो भन्ने विषय अझै स्पष्ट भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।

advertisement

प्रहरीका अनुसार तामाङको शव आफ्नै घरबाट करिब तीन किलोमिटर दक्षिणतर्फको जंगलमा नाइटोबाट रगत बगिरहेको अवस्थामा फेला परेको थियो। उक्त सूचना पाएलगत्तै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय बस्तीपुर तथा इलाका प्रहरी कार्यालय खुर्कोटबाट संयुक्त टोली राति नै घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा तामाङको पेटको भागमा गोली लागेको देखिएको छ। शव नजिकै एक थान भरुवा बन्दुक बीच भागबाट भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै मृतकले बोकेको झोलाभित्र बारुदजस्तै देखिने धुलो तथा फलाम र सिसाका टुक्रासमेत फेला परेको एसपी सुवेदीले बताए।

शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com