सुनसरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन्।
जेनजी आन्दोलनका क्रममा सिग्देलले तत्कालीन प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। उनी अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए। आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएपछि उनले ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो भएको टिप्पणी गर्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।
सिग्देलको विरोधका कारण अनेरास्ववियु नेतृत्वले उनलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो। सुनसरीको धरानमा विशेष भेला गरेर शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ। रेग्मीले अघिल्लो अधिवेशनमा अध्यक्षको दाबी गरेका थिए, तर सिग्देल बहुमत प्रतिनिधिद्वारा चयन भएका थिए।
हाल रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको छ। समितिमा उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी, सहसचिवमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ छन्। कोषाध्यक्षमा सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ तथा अर्जुन निरौला चयन भएका छन्।
बर्खास्तीपछि सिग्देलले अनेरास्ववियुमा ओलीलाई भगवान् मान्ने प्रवृत्तिको संगठन बन्न थालेको आरोप लगाउँदै भनेका छन् कि, ‘विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्था सिर्जना गर्नु गलत हो। म सदैव व्यक्तिवादी र गलत प्रवृत्तिको विरोधमा लागिरहनेछु।’
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया