काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले आफ्नो राजनीतिक भविष्यको चिन्ता नगर्न आग्रह गर्दै रास्वपालाई शुभकामना दिएकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दल, चिन्ह र पद अस्थायी हुने भन्दै आफ्नो व्यक्तिगत भविष्यभन्दा पनि पार्टीभित्रको लोकतन्त्र जोगाउनतर्फ लाग्न शुभेच्छुकहरूलाई आग्रह गरेकी हुन्।
आफ्नो राजनीतिक यात्राबारे अनुमानका भरमा धारणा नबनाउन आग्रह गर्दै श्रेष्ठले आफू जनतामाझ नै रहेको स्पष्ट पारेकी छन्।
उनले लेखेकी छन्, ‘मेरो राजनीतिक भविष्यको चिन्ताको सट्टा देश र तपाईंलाई भरोसा लाग्ने पार्टीभित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनुहोला। त्यो बिना जो जहाँबाट जोडिएर जिते पनि अन्तिममा जनता र देशले हार्नेछ।’
केही नियोजित गालीबाहेक प्राप्त चासो र चिन्तालाई आफूले मायाको रूपमा लिएको उनले उल्लेख गरेकी छन्।
श्रेष्ठले नयाँ रास्वपा बलियो नयाँ शक्ति नै भएको बताएकी छन्। उनले भनेकी छन्, ‘नयाँ रास्वपालाई शुभकामना छ। नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावरण मिलोस्। बधाई भन्न पाइयोस्।’
साथै, उनले नयाँ र पुराना साथीहरूले उठाएका प्रश्नहरूलाई नेतृत्वले सुधारको अवसरका रूपमा लिने विश्वास समेत व्यक्त गरेकी छन्।
नेतृ श्रेष्ठले आफू अवसरको खोजीमा रास्वपामा नलागेको र अवसर नपाएर नछोडेको पनि स्पष्ट पारेकी छन्।
‘म व्यक्तिगत अवसर खोज्दै रास्वपामा संलग्न भएको थिइनँ। रास्वपा छोडेको पनि त्यहाँ अवसर नपाएर होइन,’ उनले भनेकी छन्, ‘देशका युवाहरूका लागि देशमै समान अवसर बनाउने बाहेक मेरो कुनै एजेण्डा छैन।’
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया