काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न सम्बद्ध पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ।
निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक र कन्टेनर प्रयोग गरिनेछ। यसका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आयोगले आव्हान गरेको छ।
सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीले आवश्यक शर्त पूरा गरी आवेदन दिनुपर्नेछ। आयोगले सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त इजाजतपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१–८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न आग्रह गरेको छ।
हेलिकप्टर भाडामा लिनका लागि पछिल्ला तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु ३ करोड हुनुपर्नेछ। ट्रक र कन्टेनर भाडामा दिने फर्मले रु १ करोड बराबरको कारोबार विवरण पेश गर्नुपर्नेछ भने कुरियर सेवाका लागि रु ३० लाख बराबरको कारोबार विवरण पेश गर्नुपर्नेछ।
कुरियर सेवा दिन चाहने कम्पनीले आफ्ना कार्यालय र ७७ वटै जिल्लामा प्रतिनिधि रहेका विवरण (टेलिफोन, मोबाइल नम्बर सहित) आवेदनसहित पेश गर्नुपर्नेछ।
यदि आवेदन एकभन्दा बढी समूहमा सूचीकृत हुने गरी पेश गरियो भने त्यसमा कारबाही नगर्ने आयोगले जनाएको छ। कुन फर्म वा कम्पनीलाई सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आयोगसँग मात्र रहनेछ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया