काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष बनाइनुपर्ने बताएका छन्। सन् २०२५ मा लोकतन्त्र कमजोर पारिएको र संविधान मिचिएको दाबी गर्दै उनले आगामी वर्ष ती मूल्यहरूलाई मजबुत बनाइ उठाउनुपर्नेमा जोड दिए।
नयाँ वर्ष २०२६ को अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको बताए। जननिर्वाचित सरकार ढल्नु भनेको लोकतन्त्र र संविधानमाथि प्रहार हुनु भएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक रहेको आरोप लगाउँदै अनधिकृत व्यक्तिको सिफारिसमा संसद् विघटन गरिएको दाबी गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिए पनि अहिलेसम्म निर्वाचनको अनुकूल वातावरण नबनेको र सरकारले त्यसतर्फ पहल नगरेको उनले बताए।
नेतामाथि झुटा मुद्दा लगाउने, अशान्ति फैलाउने, लुटिएका हतियार फिर्ता नहुने र जेलब्रेक गर्नेहरूलाई अगाडि सार्ने प्रयास भएको आरोप लगाउँदै उनले यस्तो अवस्थामा निष्पक्ष निर्वाचन सम्भव नहुने चेतावनी दिए। निर्भयपूर्वक मतदान हुन नसके निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने उनको भनाइ थियो।
निर्वाचनमा जनअभिमत स्वतन्त्र रूपमा प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुने निर्वाचनमा एमाले सहभागी भई विजय हासिल गर्ने दाबी गरे। निर्वाचन जुनसुकै बेला हुन सक्ने भन्दै उनले पार्टी पंक्तिलाई सबै हिसाबले तयार रहन निर्देशन दिए।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया