बुटवल । गुल्मीमा पिकनिकका लागि विद्यार्थी बोकेर वनभोज जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी र पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोजका लागि लैजाँदै गरेको थियो। दुर्घटनाको कारण हालसम्म खुलेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। बस र चालक नियन्त्रणमा रहेका छन्।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया