काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षधर केन्द्रीय नेताहरू सक्रिय देखिएका छन्। संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवासँग भेट गर्दै पार्टीको वर्तमान अवस्थाबारे गम्भीर छलफल गरेका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको सम्भावनाबारे तयारी थालेपछि संस्थापन समूहका नेताहरू सभापतिसँग छलफलमा जुटेका हुन्। उनीहरू आज बिहान महाराजगन्जस्थित देउवाको निवास पुगेका थिए।
भेटका क्रममा सभापति देउवाले पार्टी एकतामा आफ्नो स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्। भेटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार देउवाले कांग्रेस विभाजनतर्फ नजाओस् भन्नेमा आफू सजग रहेको धारणा राखेका थिए।
ती सदस्यले भने, “पार्टी संवेदनशील अवस्थामा पुगेको छ, त्यसलाई सम्हाल्दै सहमतिका साथ अघि बढ्न नेतृत्वले भूमिका खेल्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ। सभापतिले पार्टी नफुटोस् भन्ने चाहना व्यक्त गर्नुभयो।”
यसैबीच, ती नेताहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेट गरी आन्तरिक छलफललाई निरन्तरता दिने तयारी गरेका छन्।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया