बुटवल । गायिका ज्योति मगर र लोकगायक बद्री पंगेनीको संयुक्त प्रस्तुति बुटवलमा आयोजित औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण बनेको छ। उनीहरूको स्टेज प्रस्तुतिका क्रममा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै चर्चामा आएको छ।
सहगायन रहेको गीत ‘बाहुनको जुंगा छातीका रौँ राम्रो पछिल्लो समय लोकप्रिय बनेसँगै दर्शकमा दुवै कलाकारलाई एउटै मञ्चमा हेर्ने उत्सुकता बढेको थियो। यही कारण उनीहरू प्रदर्शनीको सांगीतिक कार्यक्रममा विशेष आकर्षणका रूपमा प्रस्तुत भए।
पुस १५ गते सार्वजनिक बिदाको अवसरमा आयोजित कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो। कार्यक्रमको सुरुवात बद्री पंगेनीले नेपाली मौलिक पोसाक दौरा–सुरुवालमा गर्दै दर्शकको ध्यान ताने। त्यसपछि गायिका ज्योति मगर आफ्नो परिचित शैलीसहित स्टेजमा प्रवेश गरिन्।
चिसो मौसमका बाबजुद प्रस्तुति जारी राख्दै ज्योतिले गीत गाउने क्रममा कोट फुकालेकी थिइन्। सोही बेला बद्री पंगेनीले उनको कम्मरमा पातलो सल बेरिदिँदा दर्शकबाट ताली र हुटिङको वर्षा भयो। यही दृश्य समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
कार्यक्रमभर ज्योति मगरले दर्शकसँग रमाइलो संवाद गर्दै माहोल थप उत्साहपूर्ण बनाइन्। करिब एक घण्टा चलेको प्रस्तुतिमा दर्शकको उत्साह निरन्तर देखिन्थ्यो।
आयोजक समितिका सांस्कृतिक संयोजक लालप्रसाद बस्यालका अनुसार सुरुमा ज्योति मगर कार्यक्रम सूचीमा नपरे पनि दर्शकको माग बढेपछि अन्तिम समयमा उनलाई निम्त्याइएको थियो। दर्शकको चाहनाअनुसार कलाकार थपिँदा कार्यक्रम अझ सफल बनेको उनले बताए।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया