काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मधेस प्रदेशबाट समानुपातिकतर्फ २० जनाको नाम बन्दसूचीमा सिफारिस गरेको छ। निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीअनुसार विभिन्न क्लस्टरबाट मधेस प्रदेशका २० जना उम्मेदवार समेटिएका हुन्।
बन्दसूची अनुसार धनुषा जिल्लाबाट उर्मिला देवी पासमान, यशोधा कुमारी यादव, मञ्जु महतो, रेनु शाह, अरविन्द शाह, रामचरित्र शाह र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ।
त्यसैगरी सप्तरीबाट असरादेवी चौधरी, महोत्तरीबाट अनिल सिंह, सर्लाहीबाट शर्मिला कुमारी यादव र हुरुही नज, पर्साबाट विचारीप्रसाद यादव, बाराबाट एकवाल मियाँ र अंशु नेपाली तथा रौतहटबाट अनुशू सिंह, बबिता दास र कर्ण सचितानन्द शाहको नाम बन्दसूचीमा परेको छ।
यसैगरी सिराहा जिल्लाबाट आशा कुमारी यादव, चन्देश्वर मण्डल र राजेश अग्रवाल सिफारिसमा परेका छन्।
बन्दसूची सार्वजनिक भएपछि महोत्तरी, सप्तरी र पर्सा जिल्लालाई बेवास्ता गरिएको भन्दै ती जिल्लाका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। मधेस प्रदेशबाट २० जनाको नाम समावेश गरिए पनि पर्सा, सप्तरी र महोत्तरीबाट एक–एक जनाको नाम मात्र समेटिएको उनीहरूको गुनासो छ।
नेता–कार्यकर्ताका अनुसार धनुषा, सिराहा, रौतहट र सर्लाही जिल्लालाई उल्लेख्य प्राथमिकता दिइएको देखिन्छ। गत आम निर्वाचनमा समानुपातिकतर्फ करिब ४३ हजार मत प्राप्त गरेको पर्सा जिल्लाबाट यसपटक एक जना मात्र सिफारिस हुनु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।
पर्साबाट सिफारिस गरिएका विचारीप्रसाद यादव पूर्व संविधानसभा सदस्य तथा मधेस प्रदेश एमालेका पूर्व उपाध्यक्ष हुन्। तर बन्दसूचीको आठौँ स्थानमा उनको नाम परेकाले सांसद बन्ने सम्भावना न्यून रहेको बताइएको छ। यादवमाथि संसदीय विकास कोष दुरुपयोग तथा जिल्लामा गुटबन्दी गरेको आरोप पनि लाग्दै आएको छ।
यसअघि प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा उल्लेखनीय योगदान दिएको पर्सा जिल्लालाई यसपटकको बन्दसूचीले उपेक्षा गरेको भन्दै स्थानीय नेताहरू आक्रोशित बनेका छन्।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया