काठमाडौँ । देशभर हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्र तथा अन्य तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात तथा बिहानको समयमा तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार












प्रतिक्रिया