काठमाडौँ । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको जनाएको छ।
बीबीसीका अनुसार मादुरो र उनकी पत्नी न्युयोर्क राज्यस्थित स्ट्युअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजभित्र आँखामा पट्टी बाँधिएको मादुरोको तस्बिर सार्वजनिक गरेका थिए।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार न्युयोर्क पुगेपछि मादुरोलाई हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्ट साइड हेलिपोर्ट लगिनेछ। त्यसपछि उनलाई अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को ब्रुकलिनस्थित मुख्यालयमा लैजाने तयारी गरिएको छ।
त्यहाँबाट मादुरोलाई ब्रुकलिनकै मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिनेछ। आगामी साता म्यानह्याटनको संघीय अदालतमा ड्रग तथा हतियारसम्बन्धी अभियोगमा उपस्थित गराइनेसम्म उनी हिरासतमा रहने बताइएको छ।
एमडीसी उच्च–प्रोफाइल मुद्दाका अभियुक्तहरू राखिने कुख्यात कारागारका रूपमा चिनिन्छ, जहाँ यसअघि र्यापर आर. केली, जेफ्री एप्स्टाइनका सहयोगी घिस्लेन म्याक्सवेल तथा हालै सिन डिडी कोम्ब्सजस्ता व्यक्तिहरू राखिएका थिए।
मादुरोमाथि न्युयोर्कमा ड्रग तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ। यद्यपि उनले आफू ड्रग कार्टेलका नेता भएको आरोप यसअघि नै अस्वीकार गर्दै आएका छन्।
यस घटनापछि भेनेजुएलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै अमेरिकी आक्रमणलाई अत्यन्त गम्भीर सैन्य हस्तक्षेपको संज्ञा दिएको छ र कडा भर्त्सना गरेको छ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया