काठमाडौं । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ।

आयोगले तोकेको आचारसंहितामा कुनै पनि परियोजनाका स्रोत, साधन वा सम्पत्ति कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा लगायत आयोगद्वारा सञ्चालन गरिने कार्यक्रममा अवरोध पु¥याउने, निर्वाचनसम्बन्धी सामग्री वा सूचनामा तोडमोड गर्ने वा गलत रूपमा प्रस्तुत गर्ने कार्यसमेत निषेध गरिएको छ।

advertisement

आचारसंहिताअनुसार सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा महाविद्यालयको परिसर प्रयोग गरी निर्वाचनसम्बन्धी भेला, बैठक वा प्रचारप्रसार गर्न पाइने छैन। यस्तै, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि प्रकारका पहिरन तथा स्टिकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्नसमेत प्रतिबन्ध लगाइएको छ।

घर वा जग्गाधनीको स्वीकृति बिना निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। साथै, बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कुनै पनि प्रकारका निर्वाचन प्रचारप्रसार गतिविधि गर्न निषेध गरिएको छ। यसैगरी, सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत आचारसंहिताले रोक लगाएको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com