काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नै जन्मथलो बागलुङमा दर्शकमाझ प्रस्तुत भए। बागलुङ महोत्सवको अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले उनलाई विशेष रुपमा मञ्चमा उभ्याएको थियो।
सप्ताहन्तको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका चर्चित गीतमा झुम्दै रमाए। डेढ घण्टा बढी चल्ने कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीत ‘बोलमाया…’ देखि ‘गलबन्दी…’ सम्म प्रस्तुत गरे।
‘नमस्कार…’ गीतसँगै मञ्चमा उपस्थित सपुतले ‘दोहोरी ब्याटल’ कार्यक्रमसँगै आफ्नो प्रस्तुति अझै रंगीन बनाए। रात ढल्दै गर्दा पनि दर्शकहरूले उनको गायनमा साथ दिन जारी राखे। दुई वर्षपछि आफ्नै गृहथलोमा फर्किएका सपुतले ‘पिर…’, ‘फूलमाया…’, ‘मेरो पनि होइन र…’ लगायतका गीत प्रस्तुत गरे। उनले आफूद्वारा अभिनीत चलचित्रका गीतहरू समेत प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
संगीत र सामाजिक सन्देशमा पारङ्गत सपुतले आफ्नो सफलताको श्रेय बागलुङलाई दिएका छन्। उनले बागलुङको परिवेश, हावापानी, संस्कार र संस्कृति नै आफ्ना सिर्जनाका मुख्य स्रोत भएको बताए। प्रस्तुति हेर्न प्रौढदेखि बालबालिकासम्म महोत्सव स्थलमा पुगेका थिए।
सपुत काठेखोला गाउँपालिका–३, धम्जामा जन्मेका हुन्। उनले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो। यसअघि उनी ‘पूर्णबहादुरको सारङ्गी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन्। शनिबार गायक कुमार पुन, गायिका टीका पुन लगायतका कलाकारहरूले पनि महोत्सवमा प्रस्तुति दिएका थिए।
यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ। महोत्सव मूल आयोजक समितिका संयोजक तथा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यका अनुसार अवधिभर विभिन्न कलाकारहरूको प्रस्तुति हुनेछन्।
महोत्सवमा खुला प्रदेशस्तरीय पुरुष–महिला भलिबल, खुला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैँटौफोर, तारो हान्ने लगायतका खेलकुद गतिविधि आयोजना गरिएको छ।
साथै, फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवर्द्धन, सुन्तला र माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशुपालन, औद्योगिक उत्पादन, स्थानीय जडीबुटी, सूचना प्रविधि प्रदर्शनी र बिक्रीकक्ष पनि रहेका छन्।
पूर्वअध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलका अनुसार महोत्सवमा करिब आठ लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ। महोत्सवको प्रत्येक टिकटबाट रु १० मानवसेवा आश्रम, बागलुङलाई सहयोग गरिनेछ। यसबाट उठेको रकम नेपाल पत्रकार महासङ्घ बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा पनि प्रयोग हुनेछ।
महोत्सवबाट बाँकी रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सीसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण र कोसेली घर सञ्चालनमा खर्च गरिने छ। आयोजकको अनुमान अनुसार महोत्सवबाट करिब रु २ करोड २० लाख आम्दानी र रु १ करोड ७० लाख खर्च हुने छ। महोत्सवमा दुई सय बढी व्यावसायिक स्टलहरू पनि रहेका छन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया