काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

अखबारका अनुसार शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न सहरमा हवाई तथा स्थल आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको हो । अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाबाट बाहिर लगेर न्यूयोर्कमा हिरासतमा राखेको बताइएको छ ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका क्रममा कुनै मानवीय क्षति नभएको दाबी गरेका थिए । तर न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको विस्तृत रिपोर्टमा भने राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यसहित गरिएको अमेरिकी सैन्य कारबाहीमा सर्वसाधारण र सैनिकहरू मारिएको उल्लेख गरिएको छ ।

रिपोर्टमा नाम नखुलाउने सर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको जनाइएको छ ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले आक्रमणमा ठूलो मात्रामा हवाई अभियान सञ्चालन गरिएको उल्लेख गरेको छ । भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्ने उद्देश्यले १५० भन्दा बढी अमेरिकी लडाकु विमान प्रयोग गरिएको र त्यसपछि हेलिकोप्टरमार्फत स्थल सेना उतारिएको बताइएको छ । ती सैनिकहरूले मादुरो बस्दै आएको निवासमा आक्रमण गरेका थिए ।

तर मृतकको संख्या र अपरेसनको पूर्ण विवरणबारे ह्वाइट हाउस वा पेन्टागनले तत्काल कुनै आधिकारिक पुष्टि गरेको छैन ।

अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको थियो । राष्ट्रपति ट्रम्पले यसलाई ‘रातारात सम्पन्न गरिएको सफल अपरेसन’ भन्दै प्रशंसा गरेका छन् । साथै उनले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने बताएका छन् ।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।

यसैबीच, न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार सार्वजनिक गरेको अभियोगपत्रमा मादुरो र फ्लोरेसमाथि अमेरिकामा कोकिन तस्करीलगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

तर आलोचकहरूले अमेरिकाको यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएलासहित सम्पूर्ण क्षेत्रमा थप अस्थिरता सिर्जना गर्ने गम्भीर जोखिम रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com