भेनेजुएला । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि विश्वका विभिन्न देशहरूले तीव्र प्रतिक्रिया जनाएका छन्। मदुरोमाथि लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित अभियोग लगाइएको छ। उनलाई शनिबार अबेर हतकडीसहित न्युयोर्क सिटी ल्याइएपछि ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ। आइतबार म्यानहटनको संघीय अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
मदुरोको पक्राउविरुद्ध अमेरिकाभित्र पनि विरोध प्रदर्शन भएका छन्। बोस्टन र मिनियापोलिसलगायत केही सहरमा ‘तेलका लागि युद्ध बन्द गर’ भन्ने नारासहित प्रदर्शनकारी सडकमा उत्रिएका थिए।
अमेरिकी कदमप्रति विश्व समुदाय विभाजित देखिएको छ। रूसले भेनेजुएलामाथिको अमेरिकी हमलालाई गहिरो चिन्ताजनक र निन्दनीय भन्दै संवादमार्फत समाधान खोज्न र मदुरो दम्पतीलाई रिहा गर्न माग गरेको छ। चीनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र सार्वभौम राष्ट्रविरुद्धको बल प्रयोग भन्दै कडा निन्दा गरेको छ भने यसले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा शान्ति तथा सुरक्षामा खतरा बढ्ने चेतावनी दिएको छ।
इरान, क्युबा, बेलारुस र निकारागुवाले पनि अमेरिकी सैन्य हस्तक्षेपलाई राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको खुला उल्लङ्घन भन्दै विरोध जनाएका छन्। दक्षिण अफ्रिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय शान्तिमा गम्भीर असर पर्न सक्ने बताएको छ।
युरोपतर्फ, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले घटनाको कानुनी मूल्यांकन जटिल रहेको भन्दै समय लिएर अध्ययन गरिने बताए। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने कुनै पनि हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट गरे। बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बेलायत यस कारबाहीमा संलग्न नरहेको जनाउँदै तथ्यका आधारमा मात्र प्रतिक्रिया दिने बताए।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भेनेजुएलाली जनताको पक्षमा उभिने र समाधान शान्तिपूर्ण तथा कानुनसम्मत हुनुपर्नेमा जोड दिइन्। क्यानडाले पनि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेको छ।
अमेरिकी कदमको समर्थन गर्नेहरू पनि देखिएका छन्। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै यसलाई स्वतन्त्रता र न्यायका पक्षमा ऐतिहासिक कदम भनेका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेईले मदुरो शासनको पतनलाई ‘स्वतन्त्र विश्वका लागि राम्रो खबर’को संज्ञा दिएका छन्।
लैटिन अमेरिकाका चिली, उरुग्वे, बोलिभिया, कोलम्बिया, पेरु तथा युरोपका नर्वे, डेनमार्क, स्लोभाकिया र चेक गणराज्यले सैन्य हस्तक्षेपको विरोध गर्दै कूटनीतिक संवाद र लोकतान्त्रिक संक्रमणको माग गरेका छन्। युक्रेनले भने मदुरो शासन मानवअधिकार उल्लङ्घनमा दोषी रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यअनुसार समाधान हुनुपर्ने प्रतिक्रिया दिएको छ।
भेनेजुएलामा अमेरिकी कारबाहीपछि उत्पन्न अवस्थाले अन्तर्राष्ट्रिय राजनीति थप तातेको छ भने यसले क्षेत्रीय तथा विश्वव्यापी स्थिरतामा कस्तो असर पार्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया