काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार नयाँ पदाधिकारी थप गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ताको पद थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपामा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँगको एकता अनुुसार उपसभापति पद कुलमान घिसिङलाई दिने निर्णय पहिले नै भइसकेको छ।
महामन्त्री पदमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पक्षबाट इन्जिनियर सुनिल लम्साल बन्ने सम्भावना बलियो देखिएको छ। लम्साल मेयर बालेनका पूर्वाधार सल्लाहकार हुन्। सहमहामन्त्रीमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहको नियुक्ति हुने सम्भावना छ।
थप गरिएका पदहरूमा कुलमान पक्षले उपसभापति र सहप्रवक्ताको जिम्मेवारी पाउने स्रोतले बताए। कुलमान घिसिङ उपसभापति बन्ने विषयमा सहमति पहिले नै भएको थियो। महामन्त्री र सहमहामन्त्री पद बालेन पक्षले लिने अपेक्षा गरिएको छ।
यद्यपि, बालेन स्वयं कुनै पद नलिई प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्। तर रास्वपामा बालेन र कुलमान पक्षधरले जम्मा ४० प्रतिशत हिस्सा लिने र सोअनुसार पार्टी व्यवस्थापन गर्ने जिम्मेवारी बालेनले लिएर अघि बढेका छन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया