काठमाडौं । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएर भएको दुर्घटना आकस्मिक घटना नभई बुद्ध एयरमा वर्षौंदेखि जरा गाडेर बसेको लापरवाही, कमजोर व्यवस्थापन र ‘प्रोफिट फर्स्ट’ मानसिकताको पछिल्लो परिणाम भएको देखिएको छ ।
बुद्ध एयरको गम्भीर सुरक्षा संकटकाबीच बुद्ध एयरका मालिक विरेन्द्र बहादुर बस्नेत भने जहाजको सुरक्षा सुधारमा नभई जेनजी आन्दोलनको लहर समातेर ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्दै राजनीतिक प्रचार–प्रसारमा व्यस्त देखिएका छन्।
यही पृष्ठभूमिमा बुद्ध एयरका मालिक बस्नेतले भने सामाजिक सञ्जालमा महँगो बुस्ट, चम्किला भिडियो र ‘नयाँ शक्ति’को भाषण चलाईरहेका छन्। तर, गम्भीर लापरवाहीका कारण आकाशमा यात्रुको ज्यान जोखिममा पार्ने कम्पनीको मालिकले नैतिकता र सुशासनको कुरा गर्नु आफैंमा विरोधाभास देखिन्छ।
जेनजी आन्दोलनको फाइदा उठाउँदै राजनितीमा होमिएका विरेन्द्र बस्नेत आफ्नो ब्यवसायिक कमजोरी लुकाउन राजनीतिमा होमिएको आरोप समेत लाग्दै आएको छ।
आफ्नै कम्पनीभित्र सुरक्षा, पारदर्शिता र यात्रु सम्मान स्थापित गर्न नसक्ने व्यक्तिले देशको शासन व्यवस्थापन गर्लान् भन्ने विश्वास गर्ने आधार के हो ? भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ।
एउटा निजी एयरलाइन्सको सुरक्षित व्यवस्थापन गर्न नसक्ने व्यक्ति देशको शासन–प्रशासन सम्हाल्ने सपना देख्न थालेपछि पछिल्लो समय अत्यधिक दुर्घटनामा पर्दै आएको बुद्ध एयरका मालीक विरेन्द्र बस्नेतको राजनीतिमा आम नागरिकले नैतिक आधार खोज्न थालेका छन्।
भद्रपुरको पछिल्लो रनवे दुर्घटनाअघि नै बुद्ध एयरको सुरक्षा रेकर्ड गम्भीर प्रश्नको घेरामा थियो। जनकपुरबाट काठमाडौं आउँदै गरेको एटिआर–७२ विमान अगाडिको पाङ्रा धावनमार्गमै छोडेर उड्नु, चालकदललाई थाहा नहुनुले बुद्ध एयरको चेकजाँच प्रणाली कति कमजोर छ भन्ने उदाङ्गो बनाइसकेको छ।
त्यसअघि पनि इन्जिन आकाशमै बन्द हुने, ल्याण्डिङ गियर नखुल्ने, उडान रद्द र ढिलाइ नियमित हुने घटनाहरू बुद्ध एयरसँग जोडिँदै आएका छन्। तथ्यांक हेर्दा आन्तरिक उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै गम्भीर प्राविधिक समस्या र दुर्घटना बुद्ध एयरकै नाममा देखिएको छ।
बुद्ध एयरले २५ वर्ष भन्दा बढी पुराना एटिआर जहाज उडाइरहेको छ। पूर्व पाइलट तथा प्राविधिक कर्मचारीहरूका अनुसार कम्पनीमा सुरक्षा भन्दा उडान संख्या र नाफा प्राथमिकतामा छन्। मर्मतसम्भारलाई औपचारिकता बनाइएको छ, पाइलट र इन्जिनियरमाथि “जसरी पनि जहाज उडाउनू” भन्ने दबाब रहेको उनीहरूले खुलस्त बताउँदै आएका छन्।
यसै कारण बुद्ध एयरका दुई जहाज विगतमा दुर्घटनाबाट पूर्णरूपमा ध्वस्त भइसकेका छन्। तर, कम्पनीले कहिल्यै आत्मसमीक्षा गरेको देखिँदैन।
सुरक्षामा मात्र नभई, यात्रु सेवा पनि बुद्ध एयरको अर्को कमजोर पक्ष बनेको छ। घण्टौं ढिला उडान, अग्रिम सूचना नदिने, भीडभाडमा यात्रुलाई उभ्याएर राख्ने, प्रश्न सोध्दा कर्मचारीबाट रुखो र डर लाग्दो व्यवहार हुने गुनासो बढ्दो छ।
प्रतिनिधिसभामा नै सांसदले “यात्रुलाई भेडाबाख्रा जस्तो व्यवहार” गरेको आरोप लगाउनुपर्ने अवस्था बुद्ध एयरकै कारण सिर्जना भएको थियो।
बुद्ध एयरको समयमै नियमन, पारदर्शी मर्मत र यात्रु सुरक्षालाई प्राथमिकता दिइएन भने बुद्ध एयरको अर्को ठूलो दुर्घटना अब आशंका होइन, समयको पर्खाइ मात्र हुने देखिन्छ ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया