विराटनगर। नेकपा एमाले मोरङ क्षेत्र नं ६ क्षेत्रिय समन्वय कमिटीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गर्दा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतको बलियो सम्भावना देखिएको छ ।
आज विराटनगरमा सम्पन्न कमिटीको दोस्रो पूर्ण बैठकले आसन्न निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गर्दा नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहनु भएको बस्नेतको सम्भावना प्रबल देखिएको हो।
बैठकले बस्नेतसहित पूर्वमन्त्री लालबाबु पण्डित, विनोद ढकाल, सत्यनारायण चौधरी, भूराज राई, यसोधा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरेको कमिटीका सह-संयोजक एवम् मोरङ जिल्ला कमिटी सदस्य सुरज श्रेष्ठले जानकारी दिए।
लामो समय देखि युवा आन्दोलन तथा खेलकुद क्षेत्रमा सक्रिय बस्नेत गत प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नं ६ (ख) मा झिनो मतान्तरले पराजित भएका थिए। हालै सम्पन्न पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत उक्त क्षेत्रमा युवाहरूबिच लोकप्रिय छन्।
पछिल्लो समय पार्टीले निर्वाचनमा नयाँ र संकटको समयमा पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतासाथ निर्वाह गर्ने नेताहरूलाई मुख्य जिम्मेवारी दिरहँदा बस्नेतको दाबेदारी झनै बलियो रहेको एमालेका नेताहरू बताउँछन्। पार्टीमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका बस्नेतले एक कार्यकाल सफल रुपमा प्रदेश खेलकुद विकास बोर्ड, कोशीको नेतृत्वसमेत सम्हालीसकेका छन्।
जेन-जी आन्दोलनपछि कोशी प्रदेशमा एमाले रक्षात्मक अवस्थामा रहँदा बस्नेतकै अगुवाईमा पार्टीले आफ्नो गतिवधिहरू संचालन गरेको थियो।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया