काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ।

ओलीलाई पत्र बुझाउन गएको आयोगको टोलीका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको कुरा स्वीकार गरेका छन्।

advertisement

आयोगको टोलीले आज भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित बयान लिएपछि केही दिनभित्र स्थान हदको विषयमा निर्णय गर्ने जनाएको छ।

ओलीले दिएको लिखित जवाफको अध्ययन गरेपछि आयोगले स्थान हदसम्बन्धी निर्णय गर्नेछ। यसअघि ओलीले सार्वजनिक भाषणमार्फत आयोगलाई बयान नदिने बताएका थिए।

बयान दिन जानुपर्ने भए, ओलीले सिंहदरबार घेराउनेसम्मको चेतावनी दिएका थिए। पछि उनले आफ्नो निवासमा आएर लिखित जवाफ दिने प्रस्ताव राखेका थिए। त्यसपछि आयोगले लिखित प्रश्न तयार गरी ओलीको निवास गुण्डुमा पत्र पठाएको थियो। यदि जवाफ नआउँथ्यो भने आयोगले उनलाई जरिवाना तिराएर छाड्ने तयारी गर्दै थियो।

जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगले २३ र २४ भदौका घटनाहरू (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गरी छानबिनपछि कारबाही सिफारिस गर्ने मुख्य जिम्मेवारी पाएको छ।

आयोगलाई ऐनले यस्तो अधिकार दिएको छ कि उनीहरूले कुनै व्यक्तिलाई उपस्थित गराएर बयान लिन, प्रमाण बुझ्न, सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट प्रमाण माग्न र लिखित विवरण पेश गर्न आदेश दिन सक्छन्।

यदि मागेको विवरण उपलब्ध नगराए वा अटेर गरे, आयोगले कारबाही सिफारिस गर्न सक्छ र अवहेलना भए ५ सय रुपैयाँ जरिवाना लगाउने अधिकार पनि आयोगसँग छ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com