काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। यससँगै रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या ६ पुगेको छ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका थिए।
डा. पाँडेले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा बन्दसूचीमा रहिरहनु उपयुक्त नदेखिएको बताएका छन्। उनले हिजो राति बसेको रास्वपाको केन्द्रीय समिति बैठकमै आफ्नो नाम समानुपातिक बन्दसूचीबाट हटाउने निर्णय जानकारी गराएको जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै डा. पाँडेले लेखेका छन्, ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएको हुँ।’
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया