मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत जुरीखेतमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा भारतको बिहार राज्यअन्तर्गत पटनाका ४२ वर्षीय रजनीश कुमार र बेगुसरायका ५० वर्षीय रविन्द कुमारको मृत्यु भएको छ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवालले पनि दुर्घटनामा ज्यान गुमाएका छन्। दुर्घटनामा मृत्यु भएका अन्य दुई जना पुरुषको भने हालसम्म पहिचान हुन सकेको छैन। अन्दाजी ३५ र ४० वर्ष उमेरका देखिने ती व्यक्तिहरूको नाम र ठेगाना पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा सुमो चालकसहित तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा हेटौँडा–४ निवासी ४५ वर्षीय चालक गणेश थापा, सोही स्थानका १२ वर्षीय अभ्यास लम्साल र रौतहटकी २१ वर्षीया रिचा चौधरी रहेका छन्।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार चालक थापा र बालक लम्सालको अवस्था गम्भीर रहेको छ भने चौधरीको अवस्था मध्यम रहेको छ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार













प्रतिक्रिया