काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले आगामी चुनावका लागि दलहरूसँग रणनीतिक तालमेल गरिने तर प्रतिनिधि सभामा कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट संकेत गरेका छन्।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले भने, ‘राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबन्धन नगर्ने नै कांग्रेसको बटम लाइन हो।’
सिटौलाले पार्टीभित्र विशेष महाधिवेशन हुने छैन भन्ने कुरामा पनि स्पष्टता दिएका छन्। उनले भने, ‘विशेष महाधिवेशन हुँदैन र हामी त्यसलाई हुन दिँदैनौं। कांग्रेस फुटोस्, कमजोर होस् वा पार्टीभित्र झगडा होस् भन्ने चाहनालाई हामी सफल हुन दिँदैनौं।’
साथै उनले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई काठमाडौं नआउन आग्रह गर्दै भने, ‘हस्ताक्षर गर्ने प्रतिनिधिहरूलाई काठमाडौं नआउन आग्रह गर्दछु। उनीहरू चुनाव तयारीमा लागुन।’
सिटौलाका यी भनाइले पार्टीभित्रको एकता र आगामी निर्वाचन रणनीतिमा कांग्रेसको स्पष्ट स्थिति प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया