काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटको सुनुवाइ न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा हुने छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीसहितले २०७९ फागुन २३ गते दायर गरेको उक्त रिटमा द्वन्द्वकालीन मुद्दासम्बन्धी प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन गरी कानूनी कारबाही हुनुपर्ने आदेश माग गरिएको छ।

advertisement

रिटमा उल्लेख छ कि प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै १७ हजारमध्ये ५ हजार जनाको हत्या गर्ने जिम्मेवारी आफूले लिने बताएका थिए। रिट दायरकर्ताहरूको तर्कअनुसार उक्त सार्वजनिक अभिव्यक्ति कानूनी दृष्टिले ‘साक्ष्य बयान’ मानिने भएकोले तत्काल प्रचलित कानुन बमोजिम उनलाई पक्राउ गरी कारबाही हुनुपर्ने देखिन्छ।

रिटमा भनिएको छ, ‘मान्छे मारेको कुरा गर्ने छुट कसैलाई छैन। यदि कुनै व्यक्तिले हत्या गरेको स्वीकारोक्ति सार्वजनिक रूपमा दियो भने, पीडित पक्षमा चोट पुग्नु स्वाभाविक हो। प्रचण्डले २०७६/१०/०१ मा दिएको सार्वजनिक स्वीकारोक्ति, हुँकार र पाँच हजार जनाको हत्या गरेको सावित बयान कानूनविपरीत नभई तत्काल कारबाही गर्नुपर्ने छ। प्रचण्ड कानूनभन्दा माथि छैनन्।’

सुनुवाइपछि यस मुद्दामा आगामी कदम र न्यायिक प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com