कालीकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचन कालीकोटबाट लड्ने तयारी गरेसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ । यसअघि बिरालोले बच्चा सारे जस्तै निर्वाचन क्षेत्र सार्दै आएका प्रचण्ड यसपटक कालीकोटबाट एकल सिफारिसमा अघि बढ्नुले यस निर्वाचनलाई उनका लागि राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । विकट भूगोल र संवेदनशील राजनीतिक पृष्ठभूमि रहेको कालीकोटबाट चुनाव लड्ने निर्णयले राष्ट्रिय शक्ति सन्तुलनसमेत प्रभावित हुन सक्ने विश्लेषण भइरहेको छ ।
यसैबीच, नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका युवा तथा जिल्लाका प्रभावशाली नेता भुपेन्द्रजंग शाही प्रचण्डका प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् । संविधानसभा निर्वाचन-२०७० र प्रतिनिधिसभा निर्वाचन-२०७४ मा उम्मेदवार बनेका शाहीले दुवै निर्वाचनमा पराजय भोगे पनि लोकप्रिय मत प्राप्त गरेका थिए । नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही कांग्रेसभित्र स्पष्ट वक्ता र जनपक्षीय नेताका रूपमा परिचित छन् ।
हाल शाही कालीकोटका विभिन्न गाउँ र बस्तीमा पुग्दै ‘सुन्दर कालीकोट, समृद्ध कालीकोट’ अभियान सञ्चालन गरिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको ‘जनता भगवान हुन्, फैसला कालीकोटका जनताकै हातमा छ’ भन्ने अभिव्यक्तिले स्थानीय राजनीतिक वातावरण थप सक्रिय बनेको छ । स्थानीय तहमा शाहीप्रति बढ्दो जनसमर्थन देखिएको र प्रतिस्पर्धा रोचक बन्दै गएको राजनीतिक विश्लेषण हुन थालेको छ ।
उता, नेकपा एमालेबाट नगेन्द्र शाही (नेशनल) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश न्यौपानेको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि चर्चामा छ । यसका साथै, नेत्रविक्रम चन्द ‘विप्लव’ निकट समूहले पनि उम्मेदवार तयारी गरिरहेको जनाइएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरोकारवाला निकायहरूबीच समन्वय भइरहेको छ, भने यसपटकको कालीकोट निर्वाचनलाई राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार













प्रतिक्रिया